काठमाडाैं, १९ पुस । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा–२ का जनप्रतिनिधि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि देश र लोकतन्त्रलाई संकटमा पार्ने खलनायकको भूमिका खेलेको आरोप लगाएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै डा. भट्टराईले वर्तमान अवस्थामा देश, लोकतन्त्र, र जनजीवन गम्भीर संकटमा परेको बताउँदै गोरखा–२ बाट निर्वाचित प्रतिनिधिले गलत भूमिका निर्वाह गरेको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, “गोरखा लिगलिगकोटको फेदी पालुङटारबाट म देशको भित्री र बाहिरी चलखेलका कारण गम्भीर संकट देखिरहेको छु। यस संकटमा गोरखा–२ का जनप्रतिनिधिले समेत खलनायकको भूमिका खेलेका छन् । ”
२०७९ सालको चुनावमा डा. भट्टराईले आफ्नो पुरानो क्षेत्र प्रचण्डलाई छोडेका थिए। प्रचण्ड उक्त क्षेत्रमा विजयी भएका थिए ।
डा. भट्टराईले गोरखाका जनताले सत्यतथ्य बुझेर लोकतन्त्र र जनताको हितमा अग्रगामी विकल्प तयार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। बिहीबार पालुङटारमा नयाँ शक्तिको नगर अधिवेशन उद्घाटन कार्यक्रममा उनले प्रमुख तीन दलका शीर्ष नेताका कारण देश रसातलमा पुगेको पनि टिप्पणी गरेका थिए ।
उनका भनाइहरूले अहिलेको राजनीतिक संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वैकल्पिक मार्ग अपनाउन अपिल गरेको देखिन्छ ।

