वीरगन्ज,२१ पुस । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले आफूविरुद्ध सञ्चारमाध्यममा प्रकाशित आरोपहरूको खण्डन गर्दै ती सबै तथ्यहीन र निराधार भएको बताएका छन् ।
आइतबार नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उनले अदालतबाट आफूले पूर्ण सफाइ पाएको र ज्यान मार्ने उद्योगसहित अन्य आरोपहरूमा राखिएको धरौटीसमेत फिर्ता भइसकेको प्रमाण प्रस्तुत गरे ।
उनले समाचारहरू पूर्वाग्रहपूर्ण भएको दाबी गर्दै आफूलाई बदनाम गर्ने नियतले मात्र प्रकाशित गरिएको बताएका छन्। साथै, समाचार प्रकाशन गर्नुअघि आफ्नो धारणा माग नगरेकोमा गम्भीर असन्तोष व्यक्त गरे ।
मन्त्री जयसवालले तथ्यविहीन र भ्रमपूर्ण समाचारहरूले जनतामा गलत सन्देश जाने भन्दै यस्ता खबरहरूको जिम्मेवारी सञ्चारमाध्यमहरूले लिनुपर्नेमा जोड दिए। उनले यस्ता समाचार खण्डन नगरे कानुनी कदम चाल्ने चेतावनी पनि दिए ।
जयसवालले आफ्नो र आफ्नो पार्टीका कार्यकर्ताहरूको संलग्नतामा धम्कीपूर्ण गतिविधिहरूको आरोप अस्वीकार गरे। उनले यस्ता घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।
केही दिनअघि एक अनलाइन पोर्टलले मन्त्री जयसवाल र उनका भाइ प्रदीप जयसवालमाथि ज्यान मार्ने उद्योग र वन्यजन्तु चोरी सिकारी जस्ता गम्भीर आरोप लगाएको थियो। मन्त्री जयसवालले यी सबै आरोपहरू राजनीतिक षड्यन्त्रको हिस्सा भएको बताउँदै अदालतको आदेशलाई सत्य मान्न आग्रह गरेका छन् ।
मन्त्री जयसवालले समाचारमार्फत आफ्नो छवि र पदीय मर्यादामा आँच पुर्याउने प्रयास भएको दाबी गरे। उनले यस्ता निराधार खबरले आफूलाई मात्र होइन, समग्र राजनीतिक वातावरणलाई नै प्रभावित पार्ने भन्दै पत्रकारहरूलाई सम्पूर्ण सत्यतथ्य बुझेर मात्र समाचार लेख्न आग्रह गरे ।
मन्त्री जयसवालले आफ्नो पार्टीप्रति प्रतिबद्धता जनाउँदै जनताका सेवा र विकासका लागि काम जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

