२१ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको रकम अनियमितता गरेको आरोपमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा सहकारी ठगीको आरोपमा मुद्दा दायर गरेको हो।
अनुसन्धानअनुसार, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, र सदस्यहरूसहितको संलग्नतामा सहकारीको १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता भएको पाइएको छ ।
यस प्रकरणमा सहकारीका पूर्वअध्यक्ष, लेखा संयोजक, कर्जा उपसमितिका सदस्यदेखि विभिन्न निजी कम्पनीका सञ्चालक र शेयरधनीसम्म प्रतिवादी बनाइएको छ।
हाल सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा समेत थुनछेक बहस सामना गरिरहेका छन्।
यस मुद्दामा जिबी ग्रुप अफ कम्पनी, नेचर नेष्ट प्रा.लि., देव दीप एग्रिकल्पचर एण्ड एनिमल हस्वेण्ड्री फार्म, गोर्खा हर्वल प्रोडक्सन प्रा.लि., स्पीङ उड रियलस्टेट प्रा.लि., र न्यू सुलक्स अफसेट प्रिन्टर्सलगायत कम्पनीका सञ्चालक र सदस्यहरू पनि प्रतिवादी बनाइएको छ।
प्रहरी र सरकारी वकिलका अनुसार, सहकारी घोटालाले हजारौं बचतकर्ताको रकम जोखिममा परेको छ। यसबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

