वीरगन्ज, २१ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस केन्द्रित राजनीतिक दलहरूलाई एकीकृत गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद सोनलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
लोसपाका अनुसार, समितिको गठन सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै मधेसका अधिकार सुनिश्चित गर्न साझा राजनीतिक पहलको आधार तयार गर्ने उद्देश्यले गरिएको हो।
समितिमा सोनलसहित केन्द्रीय वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्र कुमार झा, र महासचिव मनिष कुमार मिश्र सदस्य रहेका छन्।
समिति संयोजक सोनलले राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य, र साझा एजेन्डाको पहिचान गर्दै मधेसका अधिकार सुनिश्चित गर्न ठोस कदम चालिने बताए। “मधेस केन्द्रित दलहरूको सहकार्य र एकता अपरिहार्य छ। यो पहलले राजनीतिक दलहरूबीच संवादको नयाँ ढोका खोल्नेछ,” सोनलले भने।
सोनलका अनुसार, समितिले संघीयता, समावेशिता, र समृद्धिका विषयलाई प्राथमिकतामा राख्दै सहमतिको वातावरण निर्माण गर्नेछ। छोटो समयभित्रै अन्य दलहरूसँग संवाद सुरु गरेर ठोस नतिजा ल्याउने विश्वास समितिले व्यक्त गरेको छ।
लोसपाको यो कदम मधेस केन्द्रित राजनीतिक दलहरूको एकता र सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण ठहरिने अपेक्षा गरिएको छ।

