एनसिआईएफएफको छैटौं संस्करण काठमाडौंमा : ४७ देशका ९८ चलचित्रहरु सहभागी

spot_img

काठमाडौं, १३ माघ । छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ ।

चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राईजिङ मलको क्युएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राईजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् ।

महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल दासको पखेटा, कमल एक्चाई मगरको डेसान लगायतका चलचित्रहरु प्रदशर्न हुनेछन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्रहरुमा द स्कुल वाल, रित्तो गाउँ, डाकिनी, निर्देश, थ्रेसहोल्ड, कन्तुर, अदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ । झण्डै ३ दर्जन राष्ट्रिय तथा ५ दर्जनबढी अन्तराष्ट्रिय चलचित्रहरु प्रदर्शन हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै मास्टर क्लास, प्यानल डिस्कसन, विभिन्न साँस्कृतिक नृत्यहरु र कला प्रदर्शनीसमेत रहनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचिकर्मीहरुको उपस्थिति रहनेछ ।

महोत्सवमा ८ जना अन्तर्राष्ट्रिय र ८ जना राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराईनबाट चलचित्र निर्माता निर्देशक एवम.् लेखक इभा दाउद र रशियाबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।नेपालबाट निर्णायकको रुपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बाँसकोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक बिक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् ।

मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि हरेक वर्ष अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टीमले जानकारी दिएको छ । सम्बन्धित निकायहरु आफैले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे । यूनेस्कोको कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका फिल्म सिटीमा घोषणा भएको तर महानगरमै यति ठूलो महोत्सव हुँदासमेत महानगरले बेवास्ता गरेको उनी बताउँछन् । नेपालको राजधानी काठमाडौंमा ४७ देशका चलचित्रहरु समावेश गरेर महोत्सव गर्न पाउँदा आफुलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनी बताउँछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय