जनकपुर,०९ चैत । महोत्तरी बर्दिवासका किसानहरू मुआब्जा वितरणमा भएको विवादलाई लिएर रेल विभागको कार्यालयमा धर्नामा उत्रिएका छन्। पुरानै मुआब्जा दरको आधारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको र मुआब्जा विवाद समाधान गर्न ढिलाइ भइरहेको भन्दै किसानहरूले विरोध जनाएका छन्।


बर्दिवासका किसानहरूले रेल विभागको मुआब्जा वितरण प्रक्रियामा असन्तोष जनाउँदै शुक्रबार पनि धर्ना जारी राखेका छन्। मुआब्जा विवादका कारण ब्रोडगेज रेलको विस्तार बर्दिवाससम्म हुन सकेको छैन। जयनगरदेखि महोत्तरीको भंगहासम्म ब्रोडगेज निर्माण भएर रेल सेवा सञ्चालनमा आए पनि बर्दिवास खण्डमा मुआब्जा विवादका कारण काम रोकिएको छ।
रेलवे आयोजना पीडित संघर्ष समितिका नीरज अधिकारीले मुआब्जा विवाद सुल्झाउन सरकारको ध्यानाकर्षण गराउँदै भने, “हामीलाई लामो समयदेखि मुआब्जा विवादको समाधानको लागि निवेदन दिने, भेटघाट गर्ने गरेका छौं, तर कुनै पहल नगरी हामी अन्तिम उपायका रूपमा धर्ना र रिले अनशनमा उत्रिएका छौं।”

उनीहरूले चेतावनी दिएका छन् कि यदि मुआब्जा विवाद समाधान नगरिए, भने रेल आयोजना सम्बन्धी काममा अवरोध पुर्याइनेछ।
गत मंसिर २३ मा मुआब्जा वितरणको क्रममा जनकपुर रेलवे कार्यालय प्रमुख विनोद ओझाले नियम विपरीत मुआब्जा वितरण गरेको आरोप पनि लगाइएको छ। यद्यपि, विभागले ओझामाथि कुनै कारबाही नगरेकोमा किसानहरूको असन्तोष छ।
रेल विभागका महानिर्देशक अजयकुमार मुलले धर्नामा बसेका किसानसँग मुआब्जा विवाद समाधान गर्ने आश्वासन दिए पनि, किसानहरूले भने वचनमा विश्वास नगरेको र समाधान नआएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।