spot_img

गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन नगर्ने, राष्ट्रपतिलाई सम्बोधनको जिम्मा

spot_img
spot_img

काठमाडौं,११ जेठ । आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसको मुख्य समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सम्बोधन नगर्ने भएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने उक्त कार्यक्रममा यसपटक प्रधानमन्त्रीको सट्टा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतल निवासलाई औपचारिक पत्राचार गर्दै संविधानको धारा ६६ को उपधारा (२) बमोजिम गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट सम्बोधन गराइदिन अनुरोध गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पनि पत्र पठाइएको पुष्टि गरेकी छन् ।

विगतका वर्षहरूमा गणतन्त्र दिवसको मुख्य समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो । तर प्रधानमन्त्री बालेनले यसपटक उक्त अभ्यासलाई निरन्तरता नदिने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री बनेयता बालेनले सार्वजनिक मञ्च तथा औपचारिक कार्यक्रममा न्यून बोल्ने शैली अपनाउँदै आएका छन् । केही समयअघि सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा धन्यवाद प्रस्ताव पेश गर्दा पनि उनले कुनै मन्तव्य नदिई प्रस्ताव मात्रै दर्ता गरेका थिए ।

त्यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका थिए । पछि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि मात्रै प्रक्रिया अघि बढाइएको थियो ।

प्रधानमन्त्रीको संसद् र सार्वजनिक कार्यक्रमप्रतिको निरन्तर मौनता तथा अनुपस्थितिलाई लिएर राजनीतिक वृत्तमा आलोचना बढ्दो छ । प्रतिनिधि सभा नियमावलीअनुसार प्रधानमन्त्रीले सांसदहरूसँग नियमित प्रश्नोत्तर गर्नुपर्ने व्यवस्था भए पनि त्यसमा समेत उनी सहभागी नभएको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

यसैबीच, गणतन्त्र दिवसजस्तो राष्ट्रिय समारोहमा समेत प्रधानमन्त्री स्वयं नबोल्ने निर्णयले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय