काठमाडौं, १५ चैत्र । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादी आन्दोलनले मुलुकको समस्या समाधान गर्न नसक्ने बताएका छन्। उनले वर्तमान राजनीतिक प्रणालीका कमजोरी स्वीकार्दै पनि गणतन्त्रलाई विस्थापन गरेर राजतन्त्र ल्याउने कुरा अव्यावहारिक रहेको बताएका छन् ।
“सरकार सञ्चालन गरेका दलहरू असफल भएका छन्, जनतामा असन्तुष्टि छ । तर, राजतन्त्रले पनि संकट समाधान गर्न सक्दैन। राष्ट्रपतिको ठाउँमा राजा राख्दैमा समस्या हल हुँदैन,” विप्लवले स्पष्ट पारे ।
उनले आत्मनिर्भर पार्टी निर्माण गर्ने आफ्नो मिशनप्रति विदेशी शक्तिहरूको समेत चासो रहेको बताए। “हामीले कम्युनिष्ट पार्टीको सही आर्थिक नीति कस्तो हुनुपर्छ भनेर उदाहरण प्रस्तुत गरिरहेका छौं ।”
माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनाबारे उनले अहिलेको अवस्थामा सहकार्य सम्भव नभएको बताए। “एकताका लागि धेरै विषयहरू मिल्नुपर्छ । अहिलेको अवस्थामा प्रचण्डजीसँग एकता सम्भव छैन,” विप्लवको भनाइ छ ।
उनले सडक आन्दोलन र सम्भावित झडपबारे स्पष्ट गर्दै भने, “सडकमा मुठभेड हुने अवस्था आउँदैन। हामीलाई कसले चुनौती दिन्छ? सबै ठीक गरिहाल्छौं ।”

