काठमाडौं, २२ चैत्र । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चैत्र १५ गते सिंहदरबार क्षेत्र र तीनकुने आसपासमा राजावादीहरुले गरेका हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।


शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले घटनाको भर्त्सना गर्दै, आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भन्नका लागि सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो। समिति सभापति रामहरि खतिवडाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने गरी बजेट व्यवस्थापन गर्न पनि निर्देशन दिइएको जानकारी दिए।
बैठकमा तीनकुने र वरपरका स्थानहरूमा कुनै पनि सभा, धर्ना वा विरोध प्रदर्शनका कार्यक्रमहरू अनुमति नदिने गरी कदम चाल्न सरकारलाई सुझाइएको छ।

गृहमन्त्री रमेश लेखकले घटनामा संलग्न दोषीहरूलाई कारबाही प्रक्रिया अघि बढेको स्पष्ट पार्दै, संविधानविरुद्धको हिंसात्मक नियतविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने जानकारी दिए। उनका अनुसार उक्त घटनामा ५५ जना नेपाल प्रहरी, २५ जना सशस्त्र प्रहरी र ५४ जना प्रदर्शनकारी घाइते भएका थिए।
बैठकमा केही समिति सदस्यहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको सो घटनामा संलग्नताको आशंका रहेको भन्दै छानबिन गर्नुपर्ने माग पनि गरेका थिए।