जनकपुर, २३ चैत्र । प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल र स्थानीय तहअन्तर्गत कार्यरत करार सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई लामो समयदेखि नपाएको तलब सुविधा तुरुन्त भुक्तानी गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिँदै सङ्घ सरकारबाट आवश्यक बजेट प्राप्त भएकोले प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न भनेका छन्।
साथै, उनले भविष्यमा करार सेवामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई तलब भुक्तानीमा ढिलाइ नहोस् भन्ने हेतुले मन्त्रालयलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
मुख्यमन्त्री सिंहको प्रतिबद्धताअनुसार अब करार स्वास्थ्यकर्मीहरूको तलब समस्या समाधान हुने निश्चित भएकाले कार्यरत कर्मचारीलाई नियमित रूपमा सेवामा खटिन आग्रह गरिएको छ।
नेपाल चिकित्सक सङ्घ, मधेश प्रदेश समितिले मुख्यमन्त्रीको पहलप्रति आभार व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूको तलबसम्बन्धी समस्या समाधानका लागि गरेको प्रयासको सराहना गरेको छ।




