विदेशी सहयोगमा सत्ता कब्जा गरेको शेख हसीनाको आरोप

spot_img

काठमाडौँ,२७ चैत । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिग नेतृ शेख हसीनाले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले विदेशी शक्तिको सहयोगमा सत्ता हत्याएको आरोप लगाएकी छन्। मंगलबार अनलाइनमार्फत आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै हसीनाले युनुस नेतृत्वको सरकारलाई ‘पूर्वनियोजित योजना’अनुसार स्थापित गरिएको बताइन्।

हाल भारतमा रहेकी हसीनाले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउने मागप्रति पनि कडा आपत्ति जनाएकी छन्। “म चकित छु, यस्ता माग उठाउनेहरूको हिम्मत देख्दा,” भन्दै उनले अवामी लिग बंगलादेशको स्वाधीनतासँग जोडिएको ऐतिहासिक पार्टी भएको स्मरण गराइन्।

“बंगबन्धु शेख मुजिबले अवामी लिगमार्फत बंगाली जनतालाई एकजुट पारेर देश स्वतन्त्र गराउनुभएको थियो,” हसीनाले भनिन्, “त्यो पार्टीमाथि प्रतिबन्धको कुरा गर्नु आफैँमा इतिहास र जनमतको अपमान हो।”

उनले युनुसमाथि संवैधानिक वा जनमतको कुनै आधार नभएको दाबी गर्दै अन्तरिम सरकारको वैधता नमान्ने स्पष्ट संकेत दिइन्। “मैले सबै त्यागेर देश छोडेकी होइन,” हसीनाले थपिन्, “संविधानअनुसार म जनताद्वारा निर्वाचित प्रतिनिधि हुँ र संसदको समर्थन प्राप्त प्रधानमन्त्री पनि।”

बीबीसीका अनुसार हसीनाको यस पछिल्लो सम्बोधनबारे बंगलादेश सरकार वा युनुस पक्षबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय