काठमाडौं,२३ वैशाख । भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षअन्तर्गतका विकास निर्माण आयोजनाको कामलाई तीव्र बनाउन मातहतका निकायलाई कडा निर्देशन दिएको छ।
मन्त्रालयले जारी गरेको परिपत्रमा निर्माण कार्यमा हुने ढिलासुस्ती अन्त्य गर्दै नियमित अनुगमन, प्रगति समीक्षा र कार्यसम्पादनलाई प्रभावकारी बनाउन जोड दिइएको छ। साथै आयोजनाको कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायबीच समन्वय बढाउन भनिएको छ।
मन्त्रालयले सम्झौताअनुसार मूल्य समायोजनको व्यवस्था तत्काल लागू गर्न पनि निर्देशन दिएको छ। कार्यान्वयनमा कुनै समस्या आए मन्त्रालयमा जानकारी गराउन भनिएको छ।
परिपत्रअनुसार कुनै आयोजनाको काम सुरु नभए सम्बन्धित आयोजना प्रमुख र निर्देशक जिम्मेवार हुनेछन् भने निर्माणस्थलमा अपेक्षित प्रगति नभए कार्यालय प्रमुखलाई जिम्मेवार बनाइनेछ।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले विकास आयोजनामा देखिएको सुस्तता हटाई समयमै काम सम्पन्न गराउने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको बताएका छन्।

