काठमाडौं,२३ वैशाख । देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसम बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी पाँच प्रदेशमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरैजसो स्थानमा बादल लागेको छ भने केही क्षेत्रमा हल्का वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा अहिले नै पानी परिरहेको विभागले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पहाडी र हिमाली भूभागमा मौसम थप बदली रहनेछ भने उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ।
रातिको समयमा पनि कोशी प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहने मौसमविद्ले बताएका छन्। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पुनः वर्षा र चट्याङको सम्भावना रहेको छ।
विभागले चट्याङ, हावाहुरी र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

