काठमाडौं, २८ चैत्र । नेपाल शिक्षक महासंघ र सरकार बीच आज साँझ ५ बजे वार्ता हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई आजको छलफलका लागि बोलाएको हो।
मन्त्रालयका एक अधिकारीका अनुसार, “अहिलेसम्म साँझ ५ बजेको समय भनिएको छ, तर शिक्षकहरू आउनु भएन वा समयमा परिवर्तन भए भने केही भन्न सकिन्न।”
यसअघि पटक-पटक बोलाउँदा पनि शिक्षक महासंघ वार्तामा उपस्थित भएको थिएन, तर आजको छलफलमा महासंघको सहभागिता रहनेछ। महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “शिक्षा विधेयकमा छलफल गर्न बोलाइएको छ र हामी जाने भनेका छौं।”
३ बजेसम्म आन्दोलन जारी रहने तर त्यसपछि छलफलमा सहभागी हुने पराजुलीले बताइन्।
महासंघले आफ्नो तीन विकल्प प्रस्तुत गरेको छ – संसदको विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न।
आजको छलफलमा महासंघले आफ्नो माग राख्ने बताइएको छ। वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने रणनीतिका साथ शिक्षक महासंघले २० चैतदेखि सुरु गरेको आन्दोलनलाई जारी राखेको छ।
सडक कब्जा गरेर प्रदर्शन गर्दा आन्दोलनकारी शिक्षक र प्रहरीबीच केही बेर धकेलाधकेलको स्थिति सिर्जना भएको थियो।

