सुरु भयो बिहारमा विधानसभा चुनावको सरगर्मी

spot_img

काठमाडौ,२८ चैत । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा आगामी विधानसभा चुनावको तयारी तीव्र हुँदै गएको छ। नोभेम्बरभित्र चुनाव तय भए पनि राजनीतिक दलहरूले अहिलेबाटै रणनीति बनाउन र जनसंपर्क बढाउन थालेका छन्।

बिहारमा पछिल्ला दुई दशकदेखि सत्ता केन्द्रमा रहँदै आएका जनता दल युनाइटेड (जेडीयू) का नेता नीतिश कुमार फेरि एकपटक चुनावी मैदानमा केन्द्रमा छन्। २००५ यता ९ पटक मुख्यमन्त्री भइसकेका उनी भारतमा गठबन्धन परिवर्तनका लागि चिनिने नेतामध्ये एक हुन्, जसलाई व्यंग्यात्मक रूपमा ‘पल्टु राम’ भन्ने गरिन्छ।

हाल उनी भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर एनडीए गठबन्धनको नेतृत्व गरिरहेका छन्। भाजपा र जेडीयूबीचको गठबन्धन सशक्त देखिए पनि नीतिश कुमारको राजनीतिक लचीलोपनका कारण समीकरण फेरिन सक्ने आशंका कायमै छ।

राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ कि नीतिश कुमारले अब आफ्नो छोरा निशान्त कुमारलाई राजनीतिमा अगाडि ल्याउन सक्नेछन्। ४९ वर्षीय निशान्त अहिलेसम्म राजनीतिबाट टाढा रहे पनि समर्थकहरू ‘बिहारकी माग, सुनो निशान्त’ भन्दै नाराबाजी गर्न थालेका छन्।

बिहारको राजनीतिमा परिवारवाद कुनै नयाँ कुरा होइन। लालु यादवका छोरा तेजस्वी यादव र रामविलास पासवानका छोरा चिराग पासवान पनि विरासतकै राजनीतिमा सक्रिय छन्। यही पथमा नीतिशले पनि आफ्नो उत्तराधिकारी तय गर्न सक्ने अनुमान गरिँदैछ।

यसपटकको चुनावमा विपक्षी काङ्ग्रेस पनि सकृय हुँदै गएको देखिन्छ। पप्पु यादव र कन्हैया कुमारजस्ता चर्चित अनुहारहरूको पार्टी प्रवेशले काङ्ग्रेसको प्रभाव पुनः बलियो बनाउने आँकलन गरिएको छ। पप्पु यादवले स्वतन्त्र उम्मेदवारीमा जित हासिल गरेपछि काङ्ग्रेसमा प्रवेश गरेका हुन् भने कन्हैया कुमार ‘पलायन रोको, नोकरी दो’ अभियानमार्फत युवाहरूको समर्थन बटुल्ने प्रयासमा छन्।

मुख्य प्रतिस्पर्धा भने भाजपा-जेडीयू गठबन्धन र आरजेडी–काङ्ग्रेस गठबन्धनबीच हुने देखिन्छ। तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल (आरजेडी) मुख्य विपक्षी शक्तिको रूपमा अघि बढिरहेको छ।

बिहारको राजनीति फेरि एकपटक थप रोचक बन्दै गएको छ, जहाँ रणनीतिकार प्रशान्त किशोर पनि जन सुराज पार्टीमार्फत चुनावी मैदानमा छन्। सबै २४३ सीटमा उम्मेदवारी दिने घोषणा गरेका किशोर गठबन्धनमा जान अस्वीकार गर्दै जनतामाझ छुट्टै विकल्प प्रस्तुत गर्दैछन्। यद्यपि उनले अहिलेसम्म पार्टी अध्यक्ष वा मुख्यमन्त्रीको दावेदारका रूपमा आफूलाई प्रस्तुत नगरेको कारणले उनको अभियानको प्रभाव कत्तिको हुनेछ भन्ने विषयमा विश्लेषकहरू विभाजित छन्।

बिहार भारतको एक गरिब प्रदेश भए पनि यसको राजनीतिक भूमिका सधैं महत्त्वपूर्ण रहँदै आएको छ। जेपी आन्दोलनको भूमि भएकाले यहाँको राजनीति ऐतिहासिक चेतनासँग जोडिएको छ। यही भूमि अहिले फेरि नयाँ समीकरण, पुराना नेताको विरासत र नयाँ पुस्ताको नेतृत्वद्वारा नयाँ मोड लिने तयारीमा देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय