काठमाडाै,०१ फागुन । हालै सम्पन्न संसदीय निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेसँगै पार्टीका नेता तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको छ। बीएनपीले २९९ सिटमध्ये २०९ सिट जित्दै ऐतिहासिक विजय हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
निर्वाचन अभियानको नेतृत्व गरेका तारिक रहमान करिब १७ वर्ष लामो निर्वासनपछि सक्रिय राजनीतिमा फर्किएका नेता हुन्। मुख्य प्रतिस्पर्धी दल अवामी लिग निर्वाचन प्रक्रियामा सहभागी नभएकाले बीएनपीलाई प्रत्यक्ष लाभ पुगेको विश्लेषण गरिएको छ।
तारिक रहमान सन् २००७ मा भ्रष्टाचारसम्बन्धी आरोपमा पक्राउ परेका थिए र करिब १८ महिना जेल बसेपछि उपचारका लागि लण्डन गएका थिए। त्यसपछि लामो समय त्यहीँबाट राजनीतिक गतिविधि सञ्चालन गरेका उनी गत डिसेम्बर २६ मा मात्रै ढाका फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै उनकी आमा तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएपछि उनले पार्टीको पूर्ण नेतृत्व सम्हालेका थिए। जनवरी ९ मा उनी औपचारिक रूपमा बीएनपीको अध्यक्ष चयन भएका थिए।
तारिक रहमान बङ्गलादेशका पूर्व राष्ट्रपति जियाउर रहमान र खालिदा जियाका जेठा छोरा हुन्। २० नोभेम्बर १९६५ मा जन्मिएका उनले सन् १९८८ देखि सक्रिय राजनीति सुरु गरेका थिए। विशेषतः सन् २००१ को निर्वाचनपछि उनी पार्टीभित्र प्रभावशाली नेताका रूपमा स्थापित भएका थिए।
उनको राजनीतिक जीवन विवादरहित भने छैन। सन् २००१–२००६ को बीएनपी शासनकालमा समानान्तर सत्ता सञ्चालन र भ्रष्टाचारसम्बन्धी आरोप उनीमाथि लागेका थिए। सन् २००४ मा शेख हसिनाको र्यालीमा भएको ग्रेनेड आक्रमण प्रकरणमा पनि अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो। तर, अवामी लिग सरकारको पतनपछि अधिकांश मुद्दा खारेज भएका छन्। बीएनपीले यी आरोपहरूलाई राजनीतिक प्रतिशोधको परिणाम भन्दै आएको छ।
निर्वाचनमा स्पष्ट बहुमत पाए पनि बीएनपीका लागि आगामी राजनीतिक यात्रा सहज नहुने विश्लेषण गरिएको छ। अवामी लिगको अनुपस्थितिमा नयाँ राजनीतिक शक्ति र गठबन्धनहरूको उदयले प्रतिस्पर्धा बढ्न सक्ने देखिन्छ। विश्लेषकहरूका अनुसार अब सम्भावित प्रधानमन्त्रीका रूपमा तारिक रहमानले जनविश्वास कायम राख्दै राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रिया सुदृढ बनाउने चुनौती सामना गर्नुपर्नेछ।
लामो निर्वासनपछि सत्ताको केन्द्रमा फर्किएका तारिक रहमानको पुनरागमनलाई धेरैले राजनीतिक पुनर्जागरणको रूपमा व्याख्या गरिरहेका छन्।

