वासिङ्टन, २९ चैत्र । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जलवायु, विविधता र अन्य ‘गैर–आवश्यक’ कार्यक्रममा हुने खर्चमा ५ अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने निर्णय गरेको छ।
पेन्टागनका प्रमुख पीट हेगसेथले बिहीबार सार्वजनिक एक भिडियोमार्फत जलवायु परिवर्तन, विविधता, समानता तथा समावेशीकरण (डीईआई) सम्बन्धी कार्यक्रमहरूमा व्यापक खर्च कटौती गरिने घोषणा गरेका हुन्।
उनका अनुसार, रक्षा मन्त्रालयले अहिले ५.१ अर्ब डलरको सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको छ, जसमा डिफेन्स हेल्थ एजेन्सीका परामर्श सेवा सम्झौता र सूचना प्रविधिको क्लाउड सेवा सम्झौता पनि समावेश छन्।
हेगसेथले कोर्नेल र नर्थवेस्टर्न विश्वविद्यालयहरूलाई दिइँदै आएको पाँच अर्ब डलरभन्दा बढीको अनुदान पनि रोकिएको जनाएका छन्। उनले ती विश्वविद्यालयहरूलाई ‘विवादास्पद डीईआई कार्यक्रम समर्थन गर्ने’ र ‘यहूदी विरोधी सहन गर्ने’ संस्थाका रूपमा चित्रण गरेका छन्।
यता अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई तथाकथित “सरकारी दक्षता विभाग” (Department of Government Efficiency – DOGE) को नेतृत्व गर्ने जिम्मेवारी दिएका छन्। हेगसेथका अनुसार DOGE लाई अघिल्लो प्रशासनबाट आएका कार्यक्रमहरू जरैदेखि उखेल्न व्यापक अधिकार दिइनेछ।
पेन्टागनले सन् २०२५ का लागि ८५० अर्ब अमेरिकी डलरको बजेट प्रस्ताव गरेको छ। वाशिङ्टन पोस्टका अनुसार, हेगसेथले आगामी वर्षदेखि प्रत्येक वर्षको रक्षा बजेटमा ८ प्रतिशत कटौती गर्ने योजना तयार गर्न निर्देशन दिएका छन्। यदि यो योजना पूर्णरूपमा लागू भयो भने पाँच वर्षभित्र रक्षा बजेट ५६० अर्ब डलरसम्म घट्नेछ।
हेगसेथले भने, “हामी बाइडेन युगका गैरघातक कार्यक्रमहरूबाट टाढा जानेछौँ र राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिला’ रणनीतिको माध्यमबाट प्राथमिकतामा आधारित खर्च गरिनेछ।”

