काठमाडौं, २९ चैत । विश्वको प्रतिष्ठित फिल्म पुरस्कार अस्करले फिल्मका एक्सन कोरियोग्राफरलाई सम्मान गर्न सन् २०२७ बाट नयाँ विधा “स्टन्ट डिजाइन” थप गर्ने घोषणा गरेको छ।
‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा १०० औं संस्करणदेखि नयाँ श्रेणीबाट अवार्ड वितरण गरिने उल्लेख छ।
यो पहल ‘द फल गाई’, ‘बुलेट ट्रेन’ र ‘डेडपुल २’ जस्ता चर्चित फिल्म निर्देशन गरेका तथा पहिले स्टन्ट कलाकार रहेका डेभिड लिचको अगुवाइमा अघि बढाइएको हो। अस्कर निर्देशक समितिले यो विधालाई औपचारिक रूपमा समावेश गर्ने निर्णय लिएको छ।
एकेडेमीका सीईओ बिल क्रेमर र अध्यक्ष जेनेट याङले भनेका छन्, “सिनेमाको प्रारम्भदेखि नै स्टन्ट डिजाइन फिल्म निर्माणको एक महत्त्वपूर्ण अङ्ग रहँदै आएको छ। यस्ता प्राविधिक र सिर्जनात्मक कलाकारको योगदानलाई हामी सम्मान गर्न चाहन्छौं।”
लेइचले आफ्नो प्रतिक्रिया दिँदै भने, “बस्टर किटनदेखि चार्ली च्याप्लिनसम्म, स्टन्टहरूले सधैँ सिनेमामा गहिरो प्रभाव पार्दै आएका छन्। आजका स्टन्ट डिजाइनर, कोरियोग्राफर र कलाकारहरूले त्यो विरासतलाई अझ सशक्त बनाइरहेका छन्।”
यो घोषणा गर्दै अस्करले आफ्नो इन्स्टाग्राममा तीन चर्चित स्टन्ट दृश्यहरू पनि साझा गरेको छ। तीमध्ये एसएस राजामौलीको ‘आरआरआर’ फिल्मको दृश्यमा अभिनेता राम चरण बाघसँग लड्दै देखिन्छन्। यो फिल्मले सन् २०२३ मा ‘नातु नातु’ गीतबाट सर्वश्रेष्ठ मौलिक गीतको अस्कर जितिसकेको थियो।
बाँकी दुई दृश्यमा मिशेल योह अभिनित ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वान्स’ (२०२२) र टम क्रूज अभिनित ‘मिसन इम्पोसिबल: घोस्ट प्रोटोकल’ (२०११) को बुर्ज खलिफा दृश्य समावेश छन्।
अब स्टन्ट डिजाइनरहरूलाई पनि विश्वकै सबैभन्दा ठूलो फिल्म अवार्डबाट औपचारिक सम्मान मिल्ने बाटो खुलेको छ।

