वीरगन्ज,३० चैत । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन मनाइने भगवान् श्री हनुमानको जन्मोत्सवको पावन अवसरमा वीरगन्जस्थित ऐतिहासिक महावीर मन्दिरमा आज साँझ ६ बजे भव्य महाआरतीको आयोजना हुने भएको छ।
श्री महावीर मन्दिर समिति, श्री साप्ताहिक हनुमान चालीसा पाठ समिति, मारवाडी सेवा ट्रस्ट र श्री राणी सती ज्योति मण्डलको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं. ६ संयोजकको भूमिका रहने बताइएको छ।
आयोजक संस्थाहरूले सम्पूर्ण भक्तजनहरूलाई मन्दिरमा उपस्थित भई महाआरतीमा सहभागी भई पुण्य लाभ लिन हार्दिक निमन्त्रण गरेका छन्।
यस वर्ष शनिबारकै दिन हनुमान जयन्ती परेको कारण यो दिनको धार्मिक महत्व अझ विशेष रहेको आयोजकहरूले बताएका छन्। धर्मशास्त्रविद्हरूका अनुसार शनिबार हनुमानजीको आराधना गर्दा शनि दोष निवारण हुने विश्वास रहिआएको छ।
हनुमान जयन्तीको अवसरमा वीरगन्जकाे महावीरस्थान मन्दिर, घडीअर्वाको रामजानकी मन्दिर लगायत देशभरका हनुमान मन्दिरहरूमा पूजा–आराधना र विशेष कार्यक्रमहरूको तयारी तीव्र रूपमा भइरहेको छ।



