बीरगन्ज,१४ वैशाख । बाराको कलैया उपमहानगरपालिका–१० नीलकण्ठवामा गए राति आएको हावाहुरीसहितको असिना पानीले स्थानीयवासीको घर तथा सम्पत्तिमा क्षति पुर्याएको छ।
हावाहुरीका कारण स्थानीय युनिष मियाँ अन्सारीको अर्धपक्की घरको छानो उड्दा करिब १ लाख रुपैयाँ बराबरको जस्ता नष्ट भएको छ। साथै, घरमा राखिएको धान, गहुँलगायत अन्नबाली भिजेर करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
त्यस्तै, हालै सञ्चालनमा आएको भिजन एचिभर इन्स्टिच्युटको फुसको घर र छानो उड्दा करिब ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।
स्थानीय रमेशप्रसाद चौरसियाको भकारीमा राखिएको धान र पसलको छानो उड्दा प्रिन्टर, फ्रिज, मोटर तथा महत्त्वपूर्ण कागजातहरूमा क्षति पुगेको छ। उनको करिब ५० हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको बताइएको छ।
आइतबार रातिको तीव्र हावाहुरी र असिनाले बारा जिल्लाका अन्य स्थानहरूमा समेत क्षति पुर्याएको अनुमान गरिएको छ। विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

