तीव्र हावाहुरीले चीनको जनजीवन अस्तव्यस्त, सयौँ उडान रद्द

spot_img

बेइजिङ,३० चैत्र । चीनको राजधानी बेइजिङसहित विभिन्न शहरहरूमा शनिबार आएको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ। मौसम विभागले यसलाई पछिल्लो दशककै उच्च सतर्कता जारी गरिएको हावाहुरी भन्दै उल्लेख गरेको छ।

चीनको मौसम विज्ञान प्रशासनले चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न यो हावाहुरी पूर्व र दक्षिणतर्फ फैलिएको जनाएको छ। विभागका अनुसार, केही क्षेत्रमा वायुगतिको स्तर सन् १९५१ यताकै रेकर्ड पार गर्न सक्नेछ।

हावाहुरीका कारण बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडानहरू रद्द भएका छन् भने, एक्सप्रेस मेट्रो र तीव्रगतिका रेल सेवा पनि अस्थायी रूपमा बन्द गरिएको छ।

समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना, युनिभर्सल स्टुडियोज पार्क जस्ता प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन्। शहरभरि करिब ३०० रूख ढलेका छन् र १९ वटा गाडीहरू क्षतिग्रस्त भएका छन्। हालसम्म मानवीय क्षति नभएको बताइएको छ।

चीनमा जलवायु परिवर्तनको असरले चरम मौसमको घटनाहरू दोहोरिन थालेका छन्। गत वर्षको बाढीले दर्जनौंको ज्यान लिएको थियो भने हजारौं विस्थापित भएका थिए। यसैगरी, गत मे महिनामा सडक भासिँदा ४८ जनाको मृत्यु भएको थियो। एजेन्सी

spot_img

ताजा अपडेट

लोकप्रिय