एउटा पाठोमा दुई महिलाको दाबीः: आमालाई चिनेपछि प्रहरीले सुल्झायो विवाद

spot_img

कानपुर,३१ चैत्र । बाख्राको एउटा पाठो कसको भन्ने विषयमा दुई महिलाबीच भएको विवाद प्रहरीले अनौठो तर बुद्धिमत्तापूर्ण तरिकाले समाधान गरेको छ। उत्तर प्रदेशको कानपुरस्थित कल्याणपुर थानामा शनिबार घटेको यो रोचक घटनाले प्रहरीको व्यावहारिक सोचलाई उजागर गर्‍यो।

गोवा गार्डनकी चन्द्रादेवीको बाख्राले २० दिनअघि पाठो जन्माएको थियो। पाठो बिरामी भएपछि उनका पति सुमन उपचारका लागि लैजाँदै गर्दा बाटोमा मीनाकुमारी नाम गरेकी महिलाले त्यस पाठो आफ्नो भएको दाबी गर्दै रोकिन्।

बिबाद चर्किएपछि प्रहरीले दुबै पक्षलाई थानामा बोलायो र आ-आफ्ना बाख्रा ल्याउन आग्रह गर्‍यो। चन्द्रादेवीको बाख्रा सेतो र मीनाकुमारीको कालो थियो। पाठो चाहिँ सेतो र कालो मिश्रित रङको।

पछि पाठोलाई छुट्याएर छाडियो र उसले सिधै सेतो बाख्रातिर गई दूध चुस्न थालेपछि प्रहरी इन्स्पेक्टर सुधीर कुमारले फैसला सुनाए, “यो पाठो चन्द्रादेवीकै हो।”
उनले भने, “मानिस होस् या जनावर, आमा छुट्याउन सक्दछ।”

दुबै पक्ष सहमत भएपछि विवाद मिल्यो। मीनाकुमारीले घरबाट हराएको पाठोसँग मेल खाएकाले आफूले दाबी गरेको बताइन् भने चन्द्रादेवीले पनि परिस्थिति बुझेको प्रतिक्रिया दिइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय