जिल्ला खेलकुद विकास समितिलाई विवादमा तान्ने प्रयास गरिएको प्रमुख नाजिर हुसेन अंसारीको आरोप

spot_img

वीरगंज, २ बैशाख – जिल्ला खेलकुद विकास समितिलाई विवादमा तान्ने प्रयास केही अवकाशप्राप्त खेलाडी तथा प्रशिक्षकहरूले गरिरहेको नव नियुक्त प्रमुख नाजिर हुसेन अंसारीले बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर काठमाडौंको परिपत्र अनुसार आफूले विधिपूर्वक कार्यभार सम्हालेको जानकारी दिँदै अंसारीले भने, “खेलाडीहरूको खेल अधिकार सुनिश्चित गर्न तथा प्रशिक्षण व्यवस्थापनलाई सहज बनाउन खोज्दा केही व्यक्तिहरूले अनावश्यक विवाद सिर्जना गर्न खोजेका छन्।”

तेक्वान्दो प्रशिक्षक समेत रहेका अंसारीका अनुसार, परिषद्को माघ २७ गतेको सदस्य सचिवस्तरीय बैठकको निर्णयअनुसार माघ २८ गते परिपत्रमार्फत आफूलाई प्रमुखको जिम्मेवारी दिइएको हो।

समितिको कबड्डी हलमा अवकाशप्राप्त खेलाडीहरूले प्रयोग गर्दै आएको एक कोठा खाली गराउन पत्र पठाइएपछि आफूलाई बदनाम गर्ने नियतले झुट्टा र कपोकल्पित आरोप लगाइएको अंसारीले दाबी गरे।

“हाल वीरगंज तेक्वान्दो डोजाङ्गले एउटा कोठा प्रयोग गरिरहेको छ। नियमअनुसार कार्यालय प्रयोजनका लागि कोठा खाली गराउन खोज्दा केही साथीहरूले विवाद सिर्जना गरेका छन्,” अंसारीले बताए।

उनले आफू संघलाइ विवादमा नलाग्ने स्पष्ट पार्दै कानुनी प्रक्रियाबाट अघि बढ्ने बताए। “प्रशिक्षण र खेलकुदका विधिसम्मत कार्यहरू व्यवस्थित गर्न कोठा खाली गराउनु आवश्यक छ,” अंसारीले भने, “यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले समेत सम्बन्धित पक्षलाई जानकारी गराइसकेको छ। त्यस बावजूद पनि बलजफ्ती कोठा नछोड्नु उचित होइन।”

बिवादको विषयमा जिल्ला प्रहरी कार्यालय, पर्सामा बसेको बैठकमा ७ दिनभित्र कोठा खाली गर्ने सहमति भएको जानकारी दिँदै अंसारीले उक्त समयावधि पार भइसकेकाले अब कानुनी बाटोबाटै कोठा खाली गराउने बताएका छन्।

विवाद गर्न खोज्ने केही साथीहरूले विगतमा खेलाडीहरूबाट अनाधिकृत रूपमा रकम असुली गर्ने गरेका थिए,” प्रमुख नाजिर हुसेन अंसारीले बताए। “तर, मैले कार्यभार सम्हालेदेखि उक्त कार्य रोकिएको छ,” उनले स्पष्ट पारे।

हाल खेलाडीहरूलाई निःशुल्क भर्ना तथा प्रशिक्षणको व्यवस्था गरिएको उल्लेख गर्दै अंसारीले भने, “यही कारणले केही व्यक्ति मसँग असन्तुष्ट भएका छन्।”

त्यसको रिस साँध्नकै लागि आफूमाथि गलत प्रचारवाजी गरिएको अंसारीले आरोप लगाए।

spot_img

ताजा अपडेट

लोकप्रिय