काठमाडौं, ३ वैशाख । भारतको प्रमुख विपक्षी दल इन्डियन नेसनल कांग्रेसका शीर्ष नेता राहुल गान्धी र पूर्वअध्यक्ष सोनिया गान्धीविरुद्ध सम्पत्ति शुद्धिकरण (मनी लन्डरिङ) मुद्दा दायर गरिएको छ। नेशनल हेराल्ड अखबारसँग सम्बन्धित आर्थिक अनियमितताको आरोपमा उनीहरूसहित सात जनाविरुद्ध अभियोगपत्र भारतको विशेष पीएमएलए अदालतमा दाखिला गरिएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार इन्फोर्समेन्ट डाइरेक्टोरेट (ED) को लामो अनुसन्धानपछि अप्रिल ९ मा विशेष अदालतमा अभियोगपत्र पेस गरिएको थियो। अदालतका विशेष न्यायाधीश विशाल गोग्नेले उक्त अभियोग पत्र स्वीकार गर्दै आगामी अप्रिल २५ मा सुनुवाइ हुने मिति तोकेका छन् ।
अभियोग पत्रमा कांग्रेस नेता साम पित्रोदा, राजीव गान्धी फाउन्डेसनकी ट्रस्टी सुमन दुबे र अन्य नेताहरूको नाम पनि समावेश छ। यसैबीच, ईडीले नेशनल हेराल्ड प्रकाशन गर्ने एसोसिएटेड जर्नल्स लिमिटेडको नाममा रहेको मुम्बई, दिल्ली र लखनउका ६६१ करोड भारु बराबरका अचल सम्पत्तिहरू जफत गर्ने प्रक्रिया पनि अघि बढाएको छ
कांग्रेस पार्टीले भने यस कदमलाई ‘राजनीतिक बदला’ को संज्ञा दिँदै केन्द्र सरकारले विपक्षीहरूलाई दबाउने नियतले यस्तो कारबाही थालेको आरोप लगाएको छ। पार्टीले देशभर व्यापक विरोध प्रदर्शन सुरु गरिसकेको छ। नयाँ दिल्लीस्थित पार्टी मुख्यालयदेखि देशभरका ईडी कार्यालयहरू अगाडि कांग्रेस कार्यकर्ताहरू आन्दोलित छन् ।
कांग्रेस नेता उदित राजले राहुल र सोनियाविरुद्ध लगाइएका आरोपहरू झुटा भएको भन्दै आम नागरिकलाई तथ्य जानकारी गराउन पार्टीले देशव्यापी आन्दोलन घोषणा गरेको बताएका छन् ।

