जनकपुर, ५ वैशाख । बुधबार बिहान आगलागी भएको ढल्केबर सबस्टेसनको निरीक्षण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको उच्चस्तरीय टोली बिहीबार घटनास्थल पुगेको छ। टोलीले समस्या समाधान, लोड व्यवस्थापन र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता जनाएको छ।
देशकै ठूलो मानिने ढल्केबर सबस्टेसनको १३२/३३/११ केभी खण्डमा करेन्ट ट्रान्सफर्मर (सीटी) पड्किएपछि धनुषा, महोत्तरी, सिन्धुलीलगायतका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। समस्या आए पनि वैकल्पिक उपायमार्फत अधिकांश स्थानमा सोही दिन विद्युत् आपूर्ति पुन: सुचारु गरिएको ग्रिड शाखा प्रमुख विनोद लोहनीले जानकारी दिए।
सबस्टेसनको बाँकी संरचना सुरक्षित रहेको र यो घटनालाई भविष्यमा नदोहोरिने गरी समाधान गर्न व्यापक प्राविधिक अध्ययन थालिएको छ। कार्यकारी निर्देशक शाक्यले संवेदनशील सबस्टेसनहरूमा ‘ब्याकअप सप्लाई सिस्टम’ अनिवार्य बनाउन निर्देशन दिएका छन्। साथै, ग्राहकलाई समयमै सूचना दिन र गुणस्तरीय सेवा प्रवाह गर्न सूचना व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउने जोड दिएका छन्।
ढल्केबर सबस्टेसन नेपाल–भारत विद्युत् कारोबारको केन्द्रविन्दु हो। यही संरचनाबाट हिउँदमा नेपालले भारतबाट विद्युत् आयात गर्दै आएको र बर्खामा निर्यात गरिँदै आएको छ। यसै कारण यो सबस्टेसनको सञ्चालनमा सानो त्रुटि पनि देशव्यापी असर पुर्याउन सक्छ।
यसअघि पनि २०८१ सालको भदौ १८ गते दुई ट्रान्सफर्मरमा समस्या आएर तीन साता ३० एमभीएको लोड काटिएको थियो। त्यतिबेला भारतको सुरसन्डबाट ३३ केभी लाइनमार्फत विद्युत् आयात गरिएको थियो।
नेपाल विद्युत् प्राधिकरणले आगामी दिनमा सम्पूर्ण सबस्टेसनको अवस्थाबारे समग्र मूल्यांकन गर्दै पूर्वाधार स्तरोन्नति गर्ने योजना अघि सारेको छ।

