काठमाडौं, ६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको व्यापक सम्भावना रहेको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई मुलुकमै लगानी गर्न आह्वान गरेका छन्।


कतारको दोहामा शुक्रबार साँझ आयोजित बागलुङ सेवा समाज कतारको प्रथम अधिवेशनमा बोल्दै अध्यक्ष ढकालले नेपालबारे गलत धारणाहरू बनाइएको भन्दै आपत्ति जनाए।
“नेपालमा केही छैन भन्ने भ्रम फैलाइँदैछ,” उनले भने, “विदेशजस्तै नेपालमा पनि मिहिनेत गर्न सके व्यवसायिक सफलता सम्भव छ।”

अध्यक्ष ढकालले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि १० अर्ब रुपैयाँ पुँजीको ‘नेपाल डेभलपमेन्ट कम्पनी’ स्थापना गरिएको जानकारी दिए। उक्त कम्पनीमार्फत जलविद्युत्, पर्यटन, उद्योग र अन्य सम्भावनायुक्त क्षेत्रमा लगानीको अवसर प्रदान गरिने उनले बताए।
ढकालले भने, “देशभित्र र बाहिर छरिएको नेपाली पुँजीलाई एकीकृत गरी नेपालको विकासमा लगानी गर्न सकिन्छ। विदेशबाट फर्किने वा फर्कन चाहने नेपालीका लागि यो उत्कृष्ट अवसर हो।”