बीरगन्ज,१७ वैशाख । आयात–निर्यातसँग सम्बन्धित जाँचपास प्रक्रियामा उद्यमी–व्यवसायी सहभागी नहुँदा बीरगन्ज भन्सार कार्यालय सहित देशका विभिन्न भन्सार नाकाबाट राजस्व सङ्कलन प्रभावित भएको छ।
भन्सार कार्यालयले आयातीत तथा निर्यात हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य लागू गर्ने प्रयास गरेपछि पछिल्ला दुई दिनदेखि व्यवसायीहरूले जाँचपास प्रक्रियामा असहयोग गर्दै आएका छन्। यसका कारण फाराम भर्ने, घोषणा गर्ने लगायतका आधारभूत प्रक्रिया नै अवरुद्ध हुँदा भन्सार जाँचपास ठप्पजस्तै बनेको छ।
कार्यालय प्रमुख कृष्णप्रसाद मैनालीका अनुसार आयातकर्ता तथा निर्यातकर्ताले आवश्यक कागजी प्रक्रिया पूरा नगर्दा जाँचपास अघि बढ्न सकेको छैन, जसले सीधै राजस्व सङ्कलनमा असर पारेको छ।
सरकारले हालै भन्सार विन्दुमा आएका सबै प्रकारका उत्पादनमा अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो। यद्यपि पेट्रोलियम पदार्थ, तरकारी, फलफूल तथा औद्योगिक कच्चापदार्थको जाँचपास भने नियमित रूपमा भइरहेको छ, जसबाट हालसम्म करिब ३१ करोड रुपैयाँ राजस्व उठेको जनाइएको छ। सामान्य अवस्थामा उक्त कार्यालयले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्दै आएको छ।
यसैबीच वीरगञ्ज उद्योग वाणिज्य सङ्घ का अध्यक्ष हरिप्रसाद गौतम ले एमआरपी व्यवस्था अव्यावहारिक भएको दाबी गर्दै व्यवसायीहरू जाँचपास प्रक्रियामा सहभागी नभएको बताएका छन्। विवाद समाधान नभएसम्म भन्सार गतिविधि प्रभावित हुने संकेत देखिएको छ।

