रौतहट,१७ वैशाख । बागमती सिँचाइ आयोजना अन्तर्गत नहर क्षेत्र अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ। आयोजनाले चैत २६ गते नै सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आएका स्थानीयलाई संरचना हटाउन आग्रह गरेको थियो।
रौतहटको चन्द्रपुर नगरपालिका–५ र ६ क्षेत्रमा करिब २८ वर्षदेखि स्थानीयले नहरको जमिन अतिक्रमण गरी बसोबास गर्दै आएका छन्। तर सूचना दिइए पनि अतिक्रमित संरचना नहटाइएकाले अब बल प्रयोग गरेर हटाउने तयारी गरिएको आयोजनाका प्रमुख सन्तोष चौधरी ले जानकारी दिएका छन्।
उनका अनुसार केही दिनभित्र सञ्जयकुमार काफ्ले, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल तथा सुरक्षा निकायको टोलीले स्थलगत अनुगमन गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउनेछ।
सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत सार्वजनिक जग्गा संरक्षण, अवैध कब्जा हटाउने अभियान तथा नहर व्यवस्थापनलाई प्रभावकारी बनाउन यो कदम चालिएको हो। आयोजनाका अनुसार चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीदेखि गुजरा नगरपालिकाको धन्सार खोलासम्मको मूल नहर क्षेत्रमा १२५ मिटर चौडाइ खाली गरिनुपर्नेछ।
यस विषयमा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेल ले सिँचाइ विस्तार र नहर व्यवस्थापनका लागि सरकारको निर्णय आवश्यक भएको बताएका छन्। साथै सुनकोसी–मरिन डाइभर्सन आयोजना मार्फत थप पानी ल्याई सिँचाइ क्षेत्र विस्तार गर्ने योजना रहेको पनि उल्लेख गरेका छन्।
यता नहर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले भने आफूहरू वास्तविक सुकुमबासी भएको दाबी गर्दै उचित व्यवस्थापन र पुनर्वासको माग गरेका छन्।

