काठमाडाैं, ८ वैशाख ।अमेरिका र चीनबीचको कर युद्ध झन् तीव्र बन्दै गएको छ। चिनियाँ सामानमाथि एकपछि अर्को गर्दै कर लगाउने अमेरिकाको नीतिपछि चीनले पनि जवाफी कदम चालिरहेको छ। तर अब चीनले अमेरिका समर्थक व्यापार रणनीति अपनाउने अन्य देशहरूलाई समेत कडा चेतावनी दिएको छ।
चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग व्यापारमा चीनको हितविरुद्ध काम गर्ने राष्ट्रहरूप्रति असन्तुष्टि जनाउँदै भन्यो, “चीनको नोक्सानी हुने गरी व्यापारमा अमेरिका पक्षधर हुने कुनै पनि देशमाथि चीनले कडा प्रतिक्रिया जनाउनेछ।”
चीनले अमेरिकाले अपनाएको नीति ‘एकतर्फी’ भएको आरोप लगाउँदै आफू त्यसको सामना गर्न तयार रहेको बताएको छ। मन्त्रालयले थप भनेको छ, “तुष्टीकरणबाट शान्ति आउँदैन, हामी मित्र राष्ट्रहरूसँग मिलेर अमेरिका विरुद्धको रणनीति अपनाउन तयार छौं।”
बीबीसीको रिपोर्ट अनुसार, अमेरिका अन्य देशहरूलाई चीनसँग व्यापार घटाउने सर्तमा कर छुट दिने तयारीमा रहेको उल्लेख छ। यस्तै दबाबको प्रतिक्रिया स्वरूप चीनको चेतावनी आएको हो।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालदेखि नै सुरु भएको यो करयुद्ध अहिले पुनः चुलिँदै गएको देखिएको छ, जसले विश्वव्यापी व्यापार सन्तुलनमा गहिरो असर पार्ने विश्लेषकहरूको अनुमान छ। एजेन्सी

