बीरगन्ज,०३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा निर्वाचन क्षेत्र–२ का उम्मेदवार सुशील कुमार साह कानुले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै दीर्घकालीन विकासका लागि कृषि आधुनिकीकरण र आधारभूत सेवामा सुधार आवश्यक रहेको बताएका छन्।
पर्सागढी नगरपालिका–२ घोडपसरा टोलमा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा कानुले स्थानीय वासिन्दासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका चुनौतीबारे चर्चा गरे। उनले गुणस्तरीय शिक्षा र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित नगरी समृद्ध समाज निर्माण सम्भव नभएको बताएका छन्।
कानुले कृषि क्षेत्रलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने योजना प्रस्तुत गर्दै किसानलाई समयमै मल, बीउ र सिँचाइ सुविधा उपलब्ध गराउने तथा उत्पादनको उचित बजार व्यवस्थापन गर्ने बताए। साथै युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने कार्यक्रम पनि अघि सारेका छन्।
कार्यक्रममा सहभागी स्थानीयले रोजगारी सिर्जना, पारदर्शी शासन र जवाफदेही नेतृत्वको आवश्यकता औँल्याए। उम्मेदवार कानुले समावेशी विकास र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग सहयोग र समर्थनको अपिल गरेका छन्।

