काठमाडौं, १० वैशाख । जापानको ओसाकामा यही अप्रिल २५ देखि २७ तारिखसम्म हुने २१औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप (WATA) मा सहभागी हुन ७ सदस्यीय नेपाली टोली बिहीबार प्रस्थान गर्दैछ। टोलीमा पाँच खेलाडीसहित प्रशिक्षक र एक निर्णायक रहेका छन्।
प्रतियोगितामा नेपाली खेलाडीहरूले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। हृदयणी बस्नेत ३० केजीमुनि, जोलिना बस्नेत ३४ केजीमुनि, सोहन पाठक २४ केजीमुनि ग्योरोगी तर्फ, सक्षम श्रेष्ठ यु–१२ एकल पुम्से र आश्रय उपाध्याय यु–१४ एकल पुम्से तर्फ प्रतिस्पर्धामा उत्रने छन्। टोलीको प्रशिक्षक सरोज तामाङ रहेका छन्।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठ यस प्रतियोगितामा निर्णायकको भूमिकामा रहनेछिन्। उनले अघिल्लो संस्करणमा पनि निर्णायकको रूपमा भूमिका निर्वाह गरेकी थिइन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य भानबहादुर चन्द र सदस्य नन्दा बस्याललगायतले बिदाइ गरेका हुन्। नेपाली टोलीको सहभागिताले अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दोमा नेपालको उपस्थिति अझ बलियो हुने अपेक्षा गरिएको छ।

