काठमाडौं, १० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमाथि तीव्र आलोचना गरेकी छिन्। देशभरि शिक्षक आन्दोलन जारी रहेका बेला शिक्षा मन्त्रालय नेतृत्वविहीन रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले प्रधानमन्त्री ओली ‘एकल शो’मा व्यस्त रहेको बताइन्।
“देशभरि आन्दोलन छ, मन्त्रालय खाली छ, अनि प्रधानमन्त्री बालुवाटारबाट एक्लै शो चलाइरहनुभएको छ। यो नेतृत्व होइन, असक्षमता हो,” संसदमा बोल्दै सांसद गौतमले टिप्पणी गरिन्।
शिक्षकहरूको आन्दोलन चुलिँदै गएको अवस्थामा प्रधानमन्त्रीले कक्षा १२ को परीक्षा स्थगन गर्ने आदेश एकलौटी रूपमा दिएको भन्दै उनले आपत्ति जनाइन्। “शिक्षकहरू सडकमा छन्, विद्यार्थीहरू अन्योलमा छन्। यस्तो गम्भीर घडीमा मन्त्रीले राजीनामा दिनुपर्छ तर प्रधानमन्त्री भने बालुवाटारबाट ठाडो आदेश दिइरहनुभएको छ,” गौतमको भनाइ थियो।
उनले थप भनिन्, “विद्यार्थीको भविष्य बलिको बोका बनाइएको छ, शिक्षकहरूको आवाज मुठ्ठीमा थुन्न खोजिएको छ, अनि दुई ठूला दलको ‘कुशलता’ हेरेर जनताले ताली पिट्नुपर्ने अवस्था सिर्जना गरिएको छ?”

