काठमाडौं, १० वैशाख । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले फिफा विन्डो अन्तर्गत हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार आधिकारिक रूपमा जानकारी दिँदै उक्त खेल आगामी जुन ५ मा हङकङमा आयोजना हुने जनाएको छ।
एन्फाका अनुसार खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर भित्र पर्छ, जसले गर्दा यसले नेपालको फिफा रैंकिङमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। हङकङ फुटबल संघको आयोजनामा हुने यस खेललाई नेपाली टोलीका लागि आगामी महत्वपूर्ण प्रतियोगिताहरूको तयारीका रूपमा हेरिएको छ।
नेपालले जुन १० मा एएफसी एसियन कप छनोट अन्तरगत लाओससँग प्रतिस्पर्धा गर्ने तालिका छ। त्यसअघि हङकङसँगको मैत्रीपूर्ण भिडन्तले टिमको समन्वय र रणनीति परीक्षणको अवसर दिनेछ।
यसका साथै, जुन महिनामै श्रीलंकामा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा पनि हङकङसँगको मैत्रीपूर्ण खेल उपयोगी हुने अपेक्षा गरिएको छ। एन्फाले टिमको तयारी तीव्र बनाउने संकेत दिँदै आगामी दिनमा थप अभ्यास खेलहरू पनि तय गर्न सक्ने जनाएको छ।

