काठमाडौं, ११ वैशाख । बुधबार एकैदिन ७५ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो।
बुधबार १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको छ। केही दिनयता अन्तर्राष्ट्रिय बजारमा उतारचढाव देखिँदै गर्दा आन्तरिक बजारमा पनि त्यसको असर परिरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि बिहीबार उकालो लागेको छ। अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँमा कायम रहेको चाँदी बिहीबार बढेर २ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनचाँदीको भाउ दिनदिनै बदलिने भएकाले उपभोक्ताहरूले खरिद गर्दा आधिकारिक स्रोतको जानकारी लिन महासंघले आग्रह गरेको छ।

