काठमाडौं,१४ वैशाख । शनिबार इडेन गार्डेन्समा हुने भनिएको कोलकाता नाइट राइडर्स र पन्जाब किंग्सबीचको रोमाञ्चक आईपीएल भिडन्त वर्षाले बगाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले धमाकेदार सुरुवात गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २०१ रनको विशाल स्कोर खडा गरेको थियो। ओपनर प्रियांश आर्य र प्रभसिमरन सिंहको शतकीय साझेदारीले पन्जाबलाई बलियो अवस्थामा पुर्याएको हो। आर्यले ३५ बलमा ८ चौका र ४ छक्का सहित ६९ रन बनाए भने सिंहले ४९ बलमा ८३ रन ठोके।
ग्लेन म्याक्सवेल (७) र मार्को यान्सेन (३) सस्तोमा आउट भए पनि कप्तान श्रेयस ऐर २५ रन र जोस इङ्लिस ११ रनमा अविजित रहे।
जवाफमा कोलकाताले मात्र १ ओभरमै बिना विकेट ७ रन बनाउँदा वर्षाले खेलै रोकिने बनायो। सुनिल नारिन ४ र रहमनुल्लाह गुरबाज १ रनमा थिए।
खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडे। यस अंकसँगै पन्जाब ११ अंकसहित तालिकाको चौथो स्थानमा पुगेको छ, मुम्बई इन्डियन्सलाई पछि पार्दै।
अबको स्थिति यस्तो छ: गुजरात, दिल्ली र बैंगलोरसँग समान १२ अंक छन्। पन्जाब ११ अंकमा चौथो, मुम्बई र लखनउ १०–१० अंकसहित पाँचौं र छैटौं स्थानमा छन्। ९ खेल खेलेको कोलकाता भने ७ अंकमै अड्किएर सातौं स्थानमा छ, प्लेअफ पुग्न अब कठिन चुनौतीसँग जुध्नुपर्नेछ।

