काठमाडौ,१५ वैशाख । आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले शानदार प्रदर्शन गर्दै दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
दिल्लीले दिएको १६३ रनको लक्ष्य आरसीबीले १८.३ ओभरमा चार विकेटको क्षतिमा सहज रूपमा पुरा गर्यो। आरसीबीका तर्फबाट क्रुनाल पाण्ड्याले विस्फोटक ७३ रन बनाउँदै जितको आधार तयार गरे भने विराट कोहलीले पनि महत्वपूर्ण ५१ रन जोडे। दिल्लीका अक्षर पटेलले दुई विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि केएल राहुलले ४१, ट्रिस्टान स्टब्सले ३४ र अभिषेक पोरेले २८ रन बनाए। आरसीबीका भुवनेश्वर कुमारले ३ विकेट र जोश हेजलउडले २ विकेट लिँदै दिल्लीलाई ठूलो स्कोर बनाउन नदिए।
यस जितसँगै आरसीबीले १० खेलबाट १४ अङ्क बनाउँदै पहिलो स्थानमा कब्जा जमाएको छ भने दिल्ली ९ खेलबाट १२ अङ्कसहित चौथो स्थानमा छ।

