काठमाडौं,१७ बैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई बुधबार काठमाडौंको प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीसँग हुने भनिएको पार्टी एकता घोषणाअघि उनलाई सादा पोशाकका प्रहरीहरूले नियन्त्रणमा लिएका हुन्।
पार्टी एकता कार्यक्रममा सहभागी हुन पुगेका चौधरीलाई कार्यक्रममा प्रवेश गर्नुअघि नै प्रहरीले नियन्त्रणमा लिएको थियो। चौधरी २०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका थिए। तर २०८० सालको गणतन्त्र दिवसमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका थिए।
उनको रिहाइ पछि सार्वजनिक रूपमा सक्रिय भएका चौधरीले पाँच वर्ष तीन महिना जेल सजाय भोगेका थिए। यद्यपि, रिहाइपछि पीडित शारदा कडायतले चौधरीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। कडायत, टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी हुन्।
सो रिटको सुनुवाइ अझै टुंगिएको छैन। यसैबीच चौधरीको पक्राउले राजनीतिक हलचलमा नयाँ तरंग ल्याएको छ, विशेषगरी नाउपा–जनमत पार्टीबीचको सम्भावित एकताको सन्दर्भमा।



