काठमाडौँ,३१ वैशाख । भारतले घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ।
भारत सरकारले सेप्टेम्बर अन्त्यसम्म लागू हुने गरी चिनी निर्यात रोक्ने निर्णय गरेको हो। बुधबार राति जारी आदेशअनुसार प्रतिबन्ध तत्काल प्रभावबाट लागू भएको छ।
आदेशमा अत्यावश्यक तथा सरकारी सम्झौताअन्तर्गत हुने सीमित निर्यातलाई भने अनुमति दिइने उल्लेख छ। साथै, पहिले नै निर्यात प्रक्रियामा रहेका केही कन्साइनमेन्टलाई छुट दिइने जनाइएको छ।
भारतले आगामी उत्पादन सिजनलाई लिएर देखिएको अनिश्चितता, एल निनोको असर र कम वर्षा हुने सम्भावनाका कारण उत्पादन घट्न सक्ने जोखिमलाई ध्यानमा राख्दै यो निर्णय गरेको हो।
मौसमविद्हरूले औसतभन्दा कम मनसुन हुने चेतावनी दिएपछि ऊखु उत्पादन र चिनी उत्पादन दुवै प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
विश्व बजारमा चिनीको प्रमुख आपूर्तिकर्ता मानिने भारतको यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुन सक्ने विश्लेषण गरिएको छ।
पछिल्ला वर्षहरूमा भारतको चिनी निर्यातमा उतारचढाव देखिएको छ। सन् २०२१–२२ मा उच्चतम स्तरमा पुगेको निर्यात त्यसपछि क्रमशः घट्दै गएर पछिल्ला वर्षहरूमा न्यून स्तरमा झरेको तथ्याङ्कले देखाएको छ।



