spot_img

तस्करीविरुद्ध कुखुरा बोकेरै सडकमा उत्रिए रौतहटका व्यवसायी

spot_img
spot_img

रौतहट,३१ वैशाख । भारतबाट अवैध रूपमा भित्रिने कुखुरा र अण्डाका कारण स्थानीय किसान तथा व्यवसायी मारमा परेको भन्दै रौतहटमा कुखुरा व्यवसायीहरूले अनौठो शैलीमा प्रदर्शन गरेका छन्।

“किसानलाई सास्ती, तस्करलाई मस्ती” भन्ने नारासहित जिल्ला कुखुरा व्यवसायी किसान संघको नेतृत्वमा गौरमा भएको प्रदर्शनमा व्यवसायीहरूले हातमै कुखुरा बोकेर बजार परिक्रमा गरेका थिए। प्रदर्शनकारीहरूले अवैध आयात र तस्करी नियन्त्रणको माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए।

व्यवसायीहरूले भन्सार कार्यालय र सुरक्षा निकायको मिलेमतोमा भारतबाट सस्तो मूल्यमा कुखुरा, अण्डा, चल्ला तथा दाना अवैध रूपमा भित्रिने गरेको आरोप लगाएका छन्। ती सामग्रीलाई नेपाली उत्पादनका रूपमा बिलिङ गरी बजारमा बिक्री गरिँदा स्थानीय किसान प्रतिस्पर्धामा टिक्न नसकेको उनीहरूको भनाइ छ।

संघका अध्यक्ष उमाशंकर साहले पटक–पटक जिल्ला प्रशासन कार्यालयमा समस्या राख्दा पनि सुनुवाइ नभएको भन्दै गुनासो गरे। उनका अनुसार अवैध कारोबार नियन्त्रण नभए साना किसान र व्यवसायी विस्थापित हुने जोखिम बढेको छ।

त्यस्तै, सचिव राधेश्याम साहले रौतहट “तस्करीको हब” बन्दै गएको आरोप लगाउँदै किसानहरू ऋणको बोझमा डुबिरहेको बताए। उनले बजार मूल्य असन्तुलनका कारण स्वदेशी उत्पादन लगातार घाटामा जान बाध्य भएको उल्लेख गरे।

स्थानीय किसानहरूले अवैध आयात रोक्न कडा अनुगमन र स्वदेशी उत्पादन संरक्षणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय