कोलकाताको होटलमा भीषण आगलागी १५ जनाको मृत्यु, दर्जनौँ घाइते

spot_img

काठमाडाैं, १७ वैशाख । भारतको कोलकाता शहरमा अवस्थित एक होटलमा मंगलबार साँझ भएको भीषण आगलागीमा परी कम्तीमा १५ जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये दुई बालबालिका र एक महिला पनि रहेका छन्।

कोलकाताको केन्द्रीय व्यापारिक क्षेत्रमा अवस्थित ‘ऋतुराज होटल’मा आगलागी हुँदा होटलभित्र रहेका केही मानिसहरू झ्याल र छतको सहाराले भाग्न खोजेका थिए। प्रहरी प्रमुख मनोज वर्माका अनुसार, आगलागीपछि होटलको कोठा र छतबाट धेरैलाई उद्धार गरिएको छ।

वर्माले आगलागीको प्रारम्भिक कारणबारे जानकारी दिँदै भने, “होटल ग्यास च्याम्बरमा परिणत भएको जस्तो देखिन्छ, जसका कारण धेरैको निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ।”

घटनाका बेलामा होटलमा ८८ जना पाहुना बसेका थिए। आगलागीमा करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। भारतमा अग्नि सुरक्षा उपायहरूको अभाव र कानुनी कार्यान्वयनमा कमजोरीका कारण यस्ता घटनाहरू बारम्बार दोहोरिने गरेका छन्।

गत वर्ष बिहारको पटनामा पनि यस्तै प्रकारको आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो।

भारतीय सञ्चारमाध्यमहरूले भवनबाट निस्किरहेको आगोको ज्वाला र झ्यालबाट भाग्ने प्रयास गरिरहेका मानिसहरूको दृश्यलाई उद्धृत गर्दै यो दुर्घटना निकै भयावह रहेको जनाएका छन्। ‘द टेलिग्राफ’ दैनिकका अनुसार, आगोबाट बच्न खोज्दा छतबाट हामफालेका कम्तीमा एक जनाको मृत्यु भएको छ।

आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र ‘चिस्याउने कार्य’ अझै जारी रहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय