काठमाडौं,१९ वैशाख । भारत र पाकिस्तानबीच पछिल्लो समय देखिएको कूटनीतिक तनावको बीचमा पाकिस्तानले आफ्ना एफएम रेडियो स्टेशनहरूमा भारतीय गीतहरूको प्रसारणमा रोक लगाएको छ।
पाकिस्तान ब्रॉडकास्टर्स एसोसिएसन (PBA) ले यस्तो निर्णय लिएको घोषणा गरेपछि देशको सूचना तथा प्रसारण मन्त्रालयले यसलाई “देशभक्तिपूर्ण कदम” भन्दै समर्थन जनाएको छ।
सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले एक विज्ञप्ति जारी गर्दै पीबीएको निर्णयको खुलेर प्रशंसा गरेका छन्। उनले भने, “यो निर्णय देशको एकता र राष्ट्रिय भावना प्रति प्रतिबद्धता दर्शाउने सकारात्मक सन्देश हो। यस्तो कठिन घडीमा हामी सबै राष्ट्रको हितका लागि एकजुट भएका छौं।”
मन्त्री तरारले पाकिस्तानका सबै मिडिया समूहलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न जिम्मेवार भूमिका खेल्न पनि आग्रह गरेका छन्। उनले मिडिया समूहहरूले देखाएको एकतालाई “गर्वको विषय” भन्दै धन्यवाद दिएका छन्।
पछिल्लो समय भारतको पहलगाममा भएको आक्रमणपश्चात् दुई देशबीच तनाव बढेको छ, जसको सन्दर्भमा पाकिस्तानले यो सांस्कृतिक प्रतिबन्ध लगाएको हो।

