ओडिसास्थित किटमा नेपाली विद्यार्थीको मृत्युबारे भारतीय विदेश मन्त्रालयको समवेदना

spot_img

काठमाडौं,१९ वैशाख । भारतको ओडिसा राज्यमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाहको रहस्यमय मृत्युपछि भारतीय विदेश मन्त्रालयले औपचारिक प्रतिक्रिया दिएको छ। कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत शाहको मृत्युप्रति भारतीय पक्षले गहिरो दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ।

विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ओडिसा राज्य सरकार र कलेज प्रशासनसँग समन्वय गरेर घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ। “यो दुःखद घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा सरकारसँग निरन्तर सम्पर्कमा छ,” विज्ञप्तिमा भनिएको छ, “दिवंगत विद्यार्थीको परिवारलाई ओडिसा सरकारले आवश्यक सबै सहयोग गरिरहेको छ।”

विज्ञप्तिमा भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख छ। “हामी नेपाली अधिकारी, ओडिसा सरकार तथा किट व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौं,” मन्त्रालयले स्पष्ट पारेको छ।

वीरगञ्जकी स्थायी बासिन्दा १८ वर्षीया शाह स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिइन्। घटनापछि स्थानीय प्रहरी र फरेन्सिक टोली घटनास्थलमा पुगेका थिए र शवलाई परीक्षणका लागि अस्पताल लगिएको छ। प्रहरीले घटनास्थल सुरक्षित राखेको छ भने पोस्टमार्टम शाहका पिताको उपस्थितिमा मात्र हुने जनाइएको छ।

यो दोस्रो पटक हो, जब किटमा नेपाली विद्यार्थीको मृत्यु भएको हो। यसअघि फागुन महिनामा नेपाली छात्रा प्रकृति लम्सालले पनि ज्यान गुमाएकी थिइन्। उनले आफूलाई एक युवकले मानसिक रुपमा पीडा दिइरहेको भन्दै कलेज प्रशासनमा उजुरी दिएको भए पनि उचित सुनुवाइ नपाएको भनिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय