काठमाडाैं,२१ वैशाख । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच पाकिस्तानले शनिबार स्वदेशमै विकसित ‘अब्दाली वेपन सिस्टम’ को सफल मिसाइल परीक्षण गरेको जनाएको छ। पाकिस्तान सेनाले जारी गरेको विज्ञप्तिमा उक्त परीक्षण सैन्य अभ्यास अन्तर्गत गरिएको र यसले ४५० किलोमिटरसम्मको दूरीमा प्रहार गर्न सक्ने क्षमता रहेको उल्लेख छ।
तर परीक्षण कहाँबाट गरिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन। यो प्रक्षेपण भारत–प्रशासित काश्मिरको पहलगाममा गत महिनाको घातक आक्रमणपछि गरिएको हो, जसमा २६ जना तीर्थयात्री मारिएका थिए। भारतले उक्त आक्रमणमा पाकिस्तान-आधारित समूहहरूको संलग्नता रहेको आरोप लगाउँदै कारबाहीका लागि सेनालाई “पूर्ण स्वतन्त्रता” दिएको घोषणा गरिसकेको छ।
पाकिस्तानले भने आक्रमणमा संलग्नता अस्वीकार गर्दै स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग गर्दै आएको छ। यस्तै, केही दिनअघि पाकिस्तानले भारतबाट सम्भावित हवाई आक्रमणको चेतावनी दिएको थियो र कुनै पनि आक्रामक गतिविधिमा सशक्त प्रतिक्रिया जनाउने बताएको थियो।
सैन्य विश्लेषकहरूका अनुसार पाकिस्तानको यो मिसाइल परीक्षण भारतप्रति चेतावनी दिने रणनीतिक सन्देश हो। “यो केवल भारतप्रति मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायप्रति पनि सन्देश हो कि पाकिस्तान तयारी अवस्थामा छ,” सैन्य विश्लेषक हसन अस्करी रिजवीले एएफपीसँग भने।
शुक्रबार पाकिस्तानी सेनाध्यक्ष जनरल सैयद आसिम मुनिरले उच्च सैन्य अधिकारीहरूसँग छलफल गर्दै सीमाक्षेत्रहरूमा सजगता र तयारी बढाउन निर्देशन दिएका थिए।
यसबीच अन्तर्राष्ट्रिय समुदायले दक्षिण एसियाली दुई आणविक शक्तिहरूलाई संयमता अपनाउन आग्रह गरिरहेको छ। चीनले सबै पक्षलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आह्वान गरेको छ भने युरोपेली संघले परिस्थितिलाई “गम्भीर र चिन्ताजनक” भनेको छ।
अमेरिकी उपराष्ट्रपति जे.डी. भ्यान्सले भारतलाई क्षेत्रीय तनावलाई नियन्त्रणमा राख्दै संयमित प्रतिक्रिया दिन आग्रह गरेका छन्। साथै पाकिस्तानलाई आफ्ना भूमिमा सक्रिय आतङ्ककारीहरूको नियन्त्रणमा कडा कदम चाल्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
भारतीय सुरक्षा स्रोतका अनुसार काश्मिरको नियन्त्रण रेखामा दुवै देशबीच पछिल्ला नौ रातदेखि निरन्तर गोलीबारी भइरहेको छ। झण्डै १.५ करोड जनसंख्या रहेको काश्मिर क्षेत्र भारत र पाकिस्तान दुवैले आफ्नो भागको रूपमा दाबी गर्दै आएका छन्, जहाँ दशकौँदेखि द्वन्द्व जारी छ।

