काठमाडौं,२२ वैशाख । बेलायतमा आतंकवादविरुद्धको अनुसन्धानका क्रममा सात जना इरानी नागरिकसहित आठ पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरीले जानकारी दिएको अनुसार, शनिबार गरिएको योजनाबद्ध कारबाही अन्तर्गत देशका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको हो। उनीहरू विशेष सुरक्षा क्षेत्रलाई लक्षित गर्ने षड्यन्त्रमा संलग्न भएको आशङ्कामा निगरानीमा परेका थिए।
पक्राउ परेकामध्ये चार जनाको उमेर २९ देखि ४६ वर्षको बीचमा रहेको छ भने एक जनाको उमेर र नागरिकता खुलाइएको छैन।
अर्को छुट्टै अनुसन्धानका क्रममा लन्डनमा थप तीन इरानी पुरुषलाई पनि सोही दिन पक्राउ गरिएको छ। यद्यपि, यी दुई अनुसन्धान आपसमा सम्बन्धित नरहेको प्रहरीले स्पष्ट पारेको छ।
गृहमन्त्री यभेट कूपरले देशको सुरक्षाका लागि सतर्कता अपनाएको भन्दै प्रहरीले चालेको कदमको प्रशंसा गर्नुभएको छ। उहाँले राष्ट्रिय सुरक्षामा खतरा देखिँदा त्यसप्रति गम्भीर प्रतिक्रिया आवश्यक हुने बताउनुभयो।
पाँच जना पक्राउ परेकामध्ये चार जनालाई आतङ्कवाद ऐन अन्तर्गत र एक जनालाई फौजदारी प्रमाण ऐन अनुसार हिरासतमा लिइएको छ। उनीहरूलाई आतंकवादी गतिविधिको तयारीमा लागेको आशङ्कामा कारबाही गरिएको हो।

