इजरायली क्याबिनेटद्वारा गाजा नियन्त्रण योजना पारित

spot_img

काठमाडौं,२३ वैशाख । इजरायली क्याबिनेटले गाजा क्षेत्रमा पूर्ण नियन्त्रण स्थापनासहित हमासविरुद्ध थप आक्रमक रणनीति अपनाउने रक्षा मन्त्रालयको प्रस्ताव पारित गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अगुवाइमा प्रस्तुत उक्त योजनामा हमासलाई नष्ट गर्न व्यापक सैन्य शक्ति प्रयोग गर्ने, सबै इजरायली बन्दीहरूलाई मुक्त गराउने र गाजाका करिब २१ लाख बासिन्दालाई अन्यत्र सार्ने प्रयास गर्ने भनिएको छ।

योजनाअनुसार गाजामा राहत वितरण सरकारी माध्यमबाट होइन, निजी कम्पनीमार्फत गरिनेछ। तर, राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले यो योजना मानवीय मापदण्डसँग असंगत भएको भन्दै आलोचना गरेका छन्। युएनका अनुसार दुई महिनादेखि राहत अवरुद्ध हुँदा गाजामा खाद्य संकट गहिरिँदै गइरहेको छ, र कुपोषणको अवस्था भयावह बन्दै गएको छ।

हमासले इजरायली प्रस्तावलाई ‘ब्ल्याकमेल’ भन्दै स्पष्ट अस्वीकार गरिसकेको छ। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने गाजाका लागि खाद्य सहायता निरन्तर जारी राखिने बताएका छन्। यता बेलायतले इजरायली योजनालाई समर्थन नगर्ने स्पष्ट पारेको छ भने युरोपेली युनियनले गाजाबासीहरू थप संकटमा पर्ने चेतावनी दिएको छ।

आइतबार बसेको क्याबिनेट बैठकमा इजरायली सेना प्रमुख आयल जामिरले पेस गरेको प्रस्तावमा गाजा क्षेत्रको दक्षिणतर्फ जनसंख्या विस्थापन, हमासलाई राहत पहुँच रोक्ने, र गाजामा हमासको पुनः प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने जस्ता कडा उपायहरू समावेश छन्।

योजना पूर्ण रूपमा लागू हुने समय भने मे १३ देखि १६ का लागि तय गरिएको अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमणपछि मात्र हुने स्पष्ट गरिएको छ। भ्रमणको क्रममा ट्रम्पले साउदी अरेबिया, युएई र कतारका नेताहरूसँग गाजाको अवस्थाबारे छलफल गर्ने कार्यक्रम छ, जसबाट हमासलाई नयाँ युद्धविराम स्वीकार गराउने कूटनीतिक प्रयास अघि बढाइने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय