काठमाडौं,२६ वैशाख । भारत र पाकिस्तानबीचको तनाव फेरि उत्कर्षमा पुगेको छ। गएराति पाकिस्तानले भारतका विभिन्न सैन्य र नागरिक ठाँउहरूमा आत्मघाती ड्रोन र मिसाइलमार्फत आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय सेनाले भने सबै आक्रमणहरूलाई एस–४०० एअर डिफेन्स सिस्टम प्रयोग गरेर निस्तेज बनाएको दाबी गरेको छ। पाकिस्तानले जम्मू विमानस्थल र पठानकोट एअरबेसलाई लक्षित गरेको बताइएको छ।
सीमावर्ती क्षेत्रमा गोलीबारी पनि चर्किएको छ। जम्मू–कश्मीरको आरएसपुरा सेक्टर, कुपवाडा र बारामुल्लामा नियन्त्रण रेखा नजिकै गोलाबारी भएको भारतीय पक्षको भनाइ छ।
जम्मू शहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्, यद्यपि क्षतिको विवरण आउन बाँकी छ।
तनावबीच भारतले विभिन्न संवेदनशील क्षेत्रमा विद्युत आपूर्ति काटेको छ। जम्मू, श्रीनगर, अनन्तनाग, बाडमेर, बिकानेर, चण्डीगढ, जालन्धर, भुज लगायतका क्षेत्रमा ब्ल्याकआउट गरिएको छ।
भारतको “अपरेशन सिन्दूर” नामक आक्रमणपछि स्थिति चर्किएको हो। भारतले २२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणको जवाफमा पाकिस्तानका नौ स्थानमा आक्रमण गरेको थियो। त्यसयता दुबै मुलुकबीच सैन्य तनाव झनै बढेको देखिन्छ।

