काठमाडौं,२६ वैशाख । भारत सरकारले दिएको निर्देशनअनुसार सोसल मिडिया प्लेटफर्म X ले भारतमा सञ्चालित ८,००० भन्दा बढी खातामा प्रयोगकर्ताको पहुँच रोक्ने निर्णय सार्वजनिक गरेको छ। पाकिस्तानसम्बन्धी सामग्रीहरूमा निगरानी कडा पार्दै भारत सरकारले सो निर्णय लागू गराएको हो।


X को ग्लोबल गभर्नमेन्ट अफेयर्स टिमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “भारत सरकारबाट कार्यकारी आदेश प्राप्त भएको छ, जसअनुसार भारतमा ८ हजारभन्दा बढी खाताहरू ब्लक गर्न भनिएको छ। आदेशको पालना नगरेमा भारतस्थित हाम्रो कर्मचारीहरूलाई जरिवाना वा जेल सजायको जोखिम छ।”
ब्लक गरिएका खाताहरूमा केही अन्तर्राष्ट्रिय समाचार संस्था तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू समेत परेको X ले जनाएको छ। यद्यपि, ब्लक गरिएका खाताको विस्तृत सूची वा तिनीहरूले कुन सामग्री पोष्ट गरेका थिए भन्नेबारे खुलाइएको छैन।

X ले आफ्नो असहमति पनि स्पष्ट गर्दै भनेको छ, “सामूहिक रूपमा यति ठूलो संख्यामा खाता ब्लक गर्नु अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हो। तर भारतमा प्लेटफर्म संचालनमा राख्न हामी बाध्य छौं।”भारत सरकारले किन ती खाता र पोस्टहरू कानुनविपरीत ठहर गर्यो भन्नेबारे स्पष्ट आधार नदिएको X को दाबी छ।