काठमाडौं,२८ वैशाख । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविरामको औपचारिक घोषणा गरिएको भए पनि त्यसको विश्वसनीयता सुरु मै खल्बलिन थालेको छ। युद्धविराम घोषणा भएको तीन घण्टा नबित्दै पाकिस्तानले विभिन्न सीमावर्ती क्षेत्रमा गोलीबारी थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय सुरक्षा निकायहरूको भनाइअनुसार, राति ८ बजेदेखि जम्मू–कश्मीरका अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा र उधमपुरजस्ता क्षेत्रमा पाकिस्तानतर्फबाट गोलीबारी र तोप आक्रमण भएका छन्।
राजौरी क्षेत्रमा गोलाबारी र उधमपुरमा ड्रोनमार्फत आक्रमण भएको दाबी पनि भारतीय पक्षले गरेको छ। यस्ता घटनाले युद्धविरामको मर्म र उद्देश्यमाथि गम्भीर प्रश्न उठाएको छ।
जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले ट्वीट गर्दै भनेका छन्, “श्रीनगरमा विस्फोटका आवाज सुनिनु युद्धविरामको कस्तो नमूना हो?”
राजनीतिक विश्लेषकहरू भन्छन्, यदि युद्धविराम व्यवहारमा कार्यान्वयन हुन सकेन भने त्यसको अर्थ केवल कागजी सम्झौतामा सीमित हुन्छ।
भारत–पाकिस्तानबीचको चिसिएको सम्बन्धको सन्दर्भमा यस्ता आक्रमणले शान्ति प्रयासमाथि गम्भीर असर पार्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई पनि सतर्क बन्नुपर्ने आवाज उठ्न थालेको छ।

