बङ्गलादेशमा शेख हसिनाको अवामी लिग निर्वाचनबाट निलम्बन

spot_img

काठमाडाैं,३० वैशाख । बङ्गलादेशको निर्वाचन आयोगले देशको सबैभन्दा पुरानो र प्रभावशाली राजनीतिक दल ‘अवामी लिग’लाई आगामी संसदीय चुनावमा भाग लिन नपाउने गरी दर्ता निलम्बन गरेको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको दलमाथि निर्वाचन आयोगले आइतबार यो कदम चालेको हो।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएपछि आयोगले गृह मन्त्रालयको सिफारिसका आधारमा यो निर्णय लिएको हो। आयोगका वरिष्ठ सचिव अख्तर अहमदले सोमबार पत्रकारहरूसँग कुरा गर्दै, “गृह मन्त्रालयले अवामी लिग र त्यससँग सम्बन्धित संस्थाहरूको सबै प्रकारका सङ्गठनात्मक गतिविधिमा प्रतिबन्ध लगाएको छ, त्यसैको निरन्तरतामा आयोगले दर्ता निलम्बन गरेको हो,” बताए।

यो प्रतिबन्ध सन् २०२३ मा शेख हसिनाको सरकारविरुद्ध भएको जनप्रदर्शनमा भएको दमनको विषयमा फैसला नभएसम्म कायम रहने छ। संयुक्त राष्ट्रसंघका अनुसार, ती घटनामा सुरक्षाकर्मीको कारबाहीबाट करिब १,४०० प्रदर्शनकारीको मृत्यु भएको थियो।

७७ वर्षीया हसिना हाल भारतमा निर्वासनमा छिन्। उनीमाथि ढाकामा मानवता विरोधी अपराधमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ, तर उनले त्यसलाई अवहेलना गरेकी छन्।

निर्वाचन आयोगले स्पष्ट पारेको छ कि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको निर्णय आउँदासम्म अवामी लिग र त्यससँग सम्बद्ध संस्थाहरू कुनै राजनीतिक ¥याली, सम्मेलन वा अन्य गतिविधि सञ्चालन गर्न सक्ने छैनन्।

चौरासी वर्षीय मुहम्मद युनुसले देशमा आगामी संसदीय निर्वाचन सन् २०२६ को जूनसम्म गरिने बताएका छन्। बङ्गलादेशको कानुनअनुसार, कुनै पनि राजनीतिक दलले चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता हुनुपर्छ।

अवामी लिगमाथि लगाइएको यो तेस्रो प्रतिबन्ध हो। पहिलोपटक सन् १९७१ मा याह्या खानको पाकिस्तानी सैन्य शासनद्वारा र दोस्रोपटक सन् १९७५ मा शेख मुजीबुर रहमानको नेतृत्वमा, जब बङ्गलादेशमा एकदलीय शासन लागू गरिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय