काठमाडौ,०१ जेठ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले अमेरिकी नागरिकता प्राप्त गरेका छन्। अमेरिकी राजधानी वासिङ्टन डिसीस्थित नागरिकता केन्द्रमा उनले शपथ लिएर शनिबार नागरिकता प्रमाणपत्र प्राप्त गरेका हुन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सो अवसरमा विभिन्न मुलुकका २२ जनाले शपथ लिएका थिए, जसमा तीन जना बंगलादेशी मूलका थिए। जोय दोस्रो व्यक्ति थिए जसले सो समारोहमा शपथ लिएका थिए। उनले सो कार्यक्रममा कानुनी सल्लाहकार समेत साथमा ल्याएका थिए।
अवामी लिगका नेता तथा पूर्व सूचनाराज्यमन्त्री मुहम्मद अली अराफातले जानकारी दिएअनुसार, जोयले विगतमा प्रयोग गर्दै आएको बंगलादेशी पासपोर्ट नोबेल विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवैध रूपमा रद्द गरेपछि जोयले अमेरिकी पासपोर्ट लिनुपर्ने अवस्था आएको हो।
उनका अनुसार ग्रीन कार्डले अमेरिका बाहिर यात्रा गर्न नपाउने भएकाले जोयलाई विदेशी भ्रमण तथा आमासँग भेटघाटका लागि नयाँ पासपोर्ट आवश्यक थियो।
प्रधानमन्त्री शेख हसिनालाई गत वर्ष अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ताबाट हटाइएको थियो। त्यसपछि उनी भारत शरण लिन गएकी थिइन् भने देशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।

